
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलापछि सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउँदै साझा यात्रामा अघि बढ्न आह्वान गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले यो विषय जीत वा हारको नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको भएको उल्लेख गर्नुभयो। उहाँले पार्टी सुदृढीकरणका लागि सबै नेता–कार्यकर्ताले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

थापाले एकता र पुनरुत्थानका लागि आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै त्यसअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले १५औँ महाधिवेशनको प्रक्रिया शुरू भइसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो।
यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैध ठहर गर्दै थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको थियो।

