
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले चारबुँदे धारणा सार्वजनिक गरेको छ।

सचिवालयका अनुसार दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको छविमा आँच पुर्याएको कसुरमा विभागीय कारबाही गर्दै २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।
गृह मन्त्रालयले उच्च तहका प्रहरी कर्मचारीमाथि समेत कानुनअनुसार कारबाही गर्न सक्ने अधिकार प्रयोग गरिएको स्पष्टीकरणमा जनाएको छ। मन्त्रालय मातहतका कर्मचारीको पदीय आचरण, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधिमाथि निगरानी भइरहेको पनि सचिवालयले उल्लेख गरेको छ।
कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने र विधिको शासन तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाइएको छ।

