
जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा कामकाज गर्ने गरी तोकिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम २१ को उपनियम (३) अनुसार अर्को आदेश नभएसम्मका लागि गुप्तालाई उपन्यायाधिवक्ताको पदमा कामकाज गर्ने जिम्मेवारी दिएको हो।
यसअघि दुई अर्ब ३९ करोड २२ लाख रुपैयाँभन्दा बढीको हुण्डी कारोबारसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको भूमिकाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए। उक्त प्रकरणमा तीन जना मुख्य प्रतिवादी जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
गुप्तालाई काठमाडौंमा कामकाज गर्ने जिम्मेवारी दिनुको कारणबारे महान्यायाधिवक्ताको कार्यालयको पत्रमा थप विवरण उल्लेख छैन।

