

एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाईसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिईने बताए । आफु व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताए । उनले भने, “विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिईने छैन, सम्माननीय अदालतलाई म धन्यवाद दिन चाहन्छु, रुख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो षड्यन्त्र हुन दिन्न ।”
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५ सय हेक्टर जमिन खाली हुनु पर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु पर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराए । उनले भने, “मुआब्जा पाईसकेको जमिन खाली गरियोस, विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।” यसैगरी मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफु जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताए ।
यसअघि मन्त्री यादवले काठमाडौँको ववरमहलस्थित वन परिसरमा निर्मित “सामुदायिक वन स्तम्भ” को एक कार्यक्रमका बीच अनावरण गरेका थिए । नेपालको वन जङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्नका लागी सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा योगदान पूर्याउनेहरुको प्रतिकाका रुपमा स्थापित स्तम्भको उहाँले अनावरण गरेका हुन् ।
स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वन जङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आ-आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्र सेवकहरुको योगदानलाई कलात्मक रूपमा दर्शाउने उहाँले जिकिर गरे ।

