
वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाकाे शुक्रबार तय भएकाे गाउँसभा स्थगित भएकाे छ । पालिका उपाध्यक्षसहित १५ जना जनप्रतिनिधीहरुले गाउँसभा बहिष्कार गरेपछि आजका हुने भनिएकाे सभा स्थगित हुन पुगेकाे हाे ।
उपाधयक्ष राजमती देवी बरैनीको अध्यक्षतामा शुक्रवार बसेको बैठक बसेर गाउँसभा बहिष्कार गर्ने निर्णय गरेको थियाे ।

गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले विधी र प्रक्रियाविपरित स्वेच्छाचारी ढंगबाट शुक्रवार गाउँसभा राखेको भन्दै बहिष्कार गर्ने निर्णय भएको उपाध्यक्ष बरैनीले बताइन् ।
वडाको बिकास बजेट कटौती गरेर करिब ९ करोड रकम शिक्षा स्वास्थ्य एवम् पूर्वाधारलाई वेवास्ता गर्दै खरिद, इन्धन र कर्मचारी भर्नामा राखिएकोमा उपाध्यक्ष बरैनीसहित १५ जना जनप्रतिनिधीले आपत्ति जनाउँदै गाउँसभा बहिष्कार गर्ने निर्णय गरिएकाे वडा नम्बर ४ का वडाध्यक्ष सञ्जय कुमार साहले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐनले निर्धारण गरेको मापदण्ड र प्रक्रिया पूरा गरेर विधिवत रुपमा आर्थिक वर्ष २०७९/०८० को गाउँ सभा गर्नुपर्ने माग पनि गरेको वडा नम्बर २ का वडाअध्यक्ष सोनालाल प्रसाद चौरसियाले जानकारी दिए ।
गाउँसभा बहिष्कार गर्ने निर्णयमा उपाध्यक्ष बरैनी, वडा नम्बर २ का वडाअध्यक्ष चौरसियासहित वडा नम्बर ४ का अध्यक्ष संजय कुमार साह, वडा नम्बर ४ का वडा सदस्य उमाशंकर मुखिया, सिमा देवी, मोलाजिम मियाँ मंसुरी, निर्मला देवी चौरसिया, वडा नम्बर २ का वडा सदस्य लालसा देवी चमैन, संजय ठाकुर लोहार, बिजय प्रसाद मलाह, वडा नम्बर १ का सदस्य महन्थ प्रसाद पटेल, गिता देवी कुर्मिन, जसोदिया देवी, कार्यपालिका सदस्य रामराज प्रसाद चौरसिया रहेका छन् ।

