Aadarsh-Daily

०६४ मा दलबाट संबिधानसभा सदस्य र राज्यमन्त्री भईयो, अहिले टिकट नपाएपछि ०७९ मा स्वतन्त्र उम्मेदवार

ad-4p

करिब १५ वर्षअघि राजनीतिक दलका तर्फबाट चुनाव जितेका पर्साका दुई नेताले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा निर्वाचित करिमा बेगम र पर्सा क्षेत्र नम्बर २ मा निर्वाचित अजय द्विवेदीले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका छन्।

content ad p2

बेगम तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएकी थिइन् भने द्विवेदी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। बेगम त्यसवेला राज्यमन्त्रीसमेत बनेकी थिइन्। तर, यसपटक भने पार्टीहरूको बीचमा गठबन्धन र चुनावी तालमेल भएपछि टिकट नपाउँदा उनीहरूले स्वतन्त्र भएर उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा राख्दै आएकी बेगमले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। उनले पर्सा क्षेत्र नम्बर २ को (ख) मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। जसपाका केन्द्रीय सदस्यसमेत रहेकी उनले पार्टीले प्रतिनिधिसभा सदस्यको तयारी गर्नुस् भनेर उम्मेदवारी दर्ताको एक दिन अगाडि टिकट काटेपछि पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताइन्।
‘सुरुको मधेस आन्दोलनदेखि अहिलेसम्म पार्टीकै लागि विभिन्न आन्दोलनमा सहभागी हुँदा जेलनेल र हिरासतमा पुगेँ,’ उनले भनिन्, ‘पार्टीसँग प्रत्यक्ष टिकट माग्दा ०७४ सालमा समानुपातिकमा प्रदेश सभा सदस्य पठायो। तर, अहिले टिकट नदिएर बेवास्ता गरेको छ।’

content left

मनोनयन दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश सभा सदस्य भएको समयमा मुख्यमन्त्रीको चाकडीबाहेक देश र जनताका लागि केही नगरेको पनि बताइन्। तर, यसपटक भने जनताको माग र चाहनाअनुसार नै स्वतन्त्र भएर उम्मेदवारी दर्तापछि जनतामा जान थालिएकाले जनताले न्याय गर्ने उनको दाबी छ।

यस्तै, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति द्विवेदीले लामो समयको राजनीतिक करिअर दाउमा राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन्। उनले विभेदको खिलाफ विद्रोह, अन्यायको खिलाफ प्रतिकार गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए।

सत्तागठबन्धनबीच चुनावी तालमेल भएपछि पर्सा क्षेत्र नम्बर १ लोकतान्त्रिक समाजवादी पार्टीको भागमा परेको छ। त्यसैले द्विवेदीले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। ०६८ देखि ०७८ सालसम्म पर्सा कांग्रेसको जिल्ला सभापति भइसकेका उनी पहिलो संविधानसभामा निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा भने उनी पराजित भए।

वीरगन्ज महानगरको पूर्वउपमेयरसमेत रहिसकेका द्विवेदीलाई ०७४ सालमा पार्टीले मेयरमा उठाएको थियो। तर, १७ हजार एक सय ९७ मत ल्याएर उनी पूर्वमेयर विजयकुमार सराबगीसँग पराजित भएका थिए।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily