Aadarsh-Daily

वैदेशिक व्यापार ओरालो, वीरगञ्जको निर्यात ६६ प्रतिशतले घट्यो

ad-4p

वीरगञ्ज, ६ कार्तिक ।  सरकारले आयातमा लिएको कडाइको नीति र बजार संकुचनको प्रभाव वैदेशिक व्यापारमा परेको छ । नेपालको वैदेशिक व्यापार ओरालो लागेको सरकारी निकायको तथ्यांकले देखाएको छ । आयातनिर्यात परिमाणका आधारमा देशको सबैभन्दा ठूलो वीरगञ्ज भन्सारको तथ्यांकले यस्तो देखाएको हो ।

content ad p2

चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासका तीनओटै महीनामा यो भन्सारमार्फत हुने वैदेशिक व्यापार निरन्तर घटिरहेको छ । गत आव २०७८/७९ को सोही अवधिको तुलनामा बितेको असोजमा कुल वैदेशिक व्यापार परिमाण २६ प्रतिशतले घटेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।

त्यसअघि चालू आवको साउन र भदौ दुवै महीना यो नाकाबाट हुने वैदेशिक व्यापार घटेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए । सरकारले गत आवको दोस्रो चौमासदेखि आयात नियन्त्रणको उपाय अपनाएको थियो ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै विलासी वस्तु आयात रोक्ने नीति लिएको छ । औद्योगिक कच्चा पदार्थ र अत्यावश्यकबाहेकका वस्तु आयातको एलसीमा नगद मार्जिनको नियम छ ।

यसैबीच वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएपछि व्यापार झन् शिथिल बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।
‘सरकारले लिएको आयात निरुत्साहनको नीति र लगानीयोग्य रकम अभावलाई कारण देखाएर बैंकहरूले कर्जामा पनि कडाइ र ब्याज बढाएपछि त्यसको सोझो असर माग र आपूर्तिमा परेको हो,’ अध्यक्ष गुप्ताले भने ।

वीरगञ्ज भन्सारका अनुसार चालू आवको साउनदेखि असोजसम्ममा वैदेशिक व्यापारमा करीब २० प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर थियो । चालू आवमा यो आकार १ खर्ब ५९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

content left

निर्यातमा उल्लेख्य कमी

यो नाकाको आयात ११ प्रतिशतले घट्दा निर्यात भने ६६ प्रतिशतले घटेको भन्सारको तथ्यांकले देखाउँछ । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारी साधन र औद्योगिक कच्चा पदार्थ पर्छन् । यी सबै वस्तुको आयात घटेको छ ।

निकासीतर्फ विगत वर्षहरूमा प्रशोधित खानेतेलको मुख्य योगदान थियो । अहिले खानेतेलको भारत निकासी स्वाट्टै घटेको छ ।

गतवर्षसम्म भारतमा यस्तो तेलको आयातमा उच्च दरमा सीमा शुल्क लाग्दा स्वदेशी उद्योगले यसको लाभ उठाएका थिए । स्वदेशका दर्जनभन्दा बढी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल भित्र्याएर प्रशोधित तेल निर्यात गर्दै आएका थिए । भारतले बजार मूल्य नियन्त्रणमा राख्न यस्तो शुल्क शून्यदेखि २ दशमलव ५ प्रतिशतसम्ममा सीमित गरेपछि निकासी करीब बन्द भएको ओसीबी फुड्स एन्ड फिड्सका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।

घट्यो राजस्व

वैदेशिक व्यापार खुम्चिएपछि त्यसको प्रभाव सरकारले उठाउने राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सारले चालू आवका कुनै पनि महीनामा राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन ।

पछिल्लो ३ महीनामा यो नाकाबाट उठेको राजस्व लक्ष्यको तुलनामा ३० प्रतिशत कम छ । वीरगञ्ज भन्सारले आप्mनो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार यो भन्सारलाई चालू आवको पहिलो त्रैमासका लागि ५६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँमात्र उठाएको छ । आर्थिक अभियानबाट

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily