Aadarsh-Daily

आज भाइ टिका पर्व

ad-4p
content left

वीरगञ्ज, १० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

content ad p2

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ : ४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily