
वीरगञ्ज, २३ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफ्नो मात्र नभइ आफना सन्तती र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जसपा–एमाले गठबन्धनका उम्मेदवार यादवले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाइका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।’
आफु जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै उनी भन्छन्, ‘प्रदीप यादवको जित जसपा र एमाले दुवैको जित हो, प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुवै पार्टीका कार्यकर्ताको जित हो ।’
पर्सा–१ मा यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘२०७४ को चुनावमा तपाइ जनताकै आशीर्वादले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रदीप यादवले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगामी दिनमा पनि झुक्न दिने छैन ।’

‘तर २०७४ भन्दा पहिले यस क्षेत्रमा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए ? यो सब जनतालाई थाहा नै भएको कुरा हो ।’ यादवले भने, ‘यो क्षेत्रबाट जितेका नेता प्रधानमन्त्री पनि भए, तर उनले के गरे ? एक टिपर ग्राभेल पनि यो क्षेत्रको सडकमा खसाएनन्, जितेर गएपछि यो क्षेत्र त के पर्सा जिल्लामै एकपटक पनि फर्किएर आएनन् ।’
यसअघि २०६४ मा सांसदमा जितेका अजय द्धिवेदी अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै यादवले भने, ‘अजय जी अहिले जनताका माझ भोट माग्न आइरहनु भएको छ, अब जनताले अजय जीलाई सोध्नु होला सांसद् जितेका बेला यो क्षेत्रमा के गर्नुभयो ?’
काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका द्धिवेदीले आफूलाई काँग्रेसले अन्याय र विभेद गरेको भन्दा अचम्म लाग्ने गरेको यादवले बताए । यादवले भने, ‘हुन त यो काँग्रेसको आन्तरिक मामीला हो, तर द्धिवेदीले भ्रम छर्दै हिडेपछि मैले पनि केहि बोल्नु पर्छ नै । बहुदल पछिका चार चुनावमा काँग्रेसले द्धिवेदीलाई विभिन्न पदमा टिकट दिएर चुनाव लडायो, २०४९ मा उपमेयर बने, २०६४ मा सांसद् बने, २०७० मा सांसद्को टिकट पाएर हारे, २०७४ मा मेयरको टिकट पाएर हारे, अब तपाई नै भन्नुस् उनि कसरी विभेदमा परे ? यसको जवाफ हुन त काँग्रेस नेता कार्यकर्ताले दिने नै छन् ।
द्धिवेदी सांसदमा जित्दा आफनो क्षेत्रमा सडक बनाउने नाममा माटो र ग्राभेल छरेर झारा टार्ने काम मात्रै भएको यादवले बताए । यादवले भने, ‘तर मैले पाँच वर्षको कार्यकालमा द्धिवेदीको जस्तो माटो र ग्राभेल छरेर बजेट पचाउने काम कहिँ गरेको छैन, मैले जहाँजहाँ सडक र नाला बनाएको छु, ती सबै पक्की छन्, कालोपत्रे गरिएका छन्, मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले हरेक वडामा विकास गरेको छु ।’
तीन महिनाका लागि मात्रै मन्त्री बन्दा आफुले ५० वटा भन्दा बढि निर्णयहरु गरेको भन्दै यादवले भने, ‘मन्त्री बने लगत्तै पहिलो निर्णय वीरगञ्जमा चिडियाखाना स्थापनाको थियो, जुन चिडियाखानाको महत्व अहिले होइन २ वर्ष पछि बनेपछि मात्रै थाहा हुनेछ, यसै कारण वीरगञ्जमा आन्तरिक मात्रै नभइ विदेशी पर्यटकहरुको ओइरो लाग्नेछ ।’
चुनावी सभालाई पर्सा १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि सम्बोधन गरेका थिए ।

