
वीरगञ्ज, ११ मंसिर । एउटै घरबाट ३ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका हुन् ।
एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो ।
जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गरेकी हुन् । जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए ।
समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् ।

उनका श्रीमान् रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् ।
रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् । रघुवीरले ३२ हजार २ सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार १ सय १२ मत पाएका छन् ।
२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए । रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन् ।
जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा–४ बाट जित हात पारेका छन् ।
यसपालिको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए । वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं–२ मा पराजित भएकी छन् ।

