Aadarsh-Daily

सरस्वती पूजा श्रद्धापूर्वक मनाइँदै

ad-4p

श्रीपञ्चमी पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रद्धापूर्वक मनाइँदै छ ।

content ad p2

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदा भन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।

यसै समयदेखि वसन्तराग गाउन थालिएको मान्यता छ । संगीत, कला, साहित्य र विद्याको खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा लेख–पढ गर्न आउँछ भन्ने धार्मिक विश्वास रहेको छ ।
आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ समेत गराउने परम्परा रहेको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीरेश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौँथो हात अभय मुद्रामा रहेको राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । विशेषगरी शैक्षिक संस्थाहरुमा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउने गरेका छन् ।

content left

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस लगायतका विभिन्न क्याम्पस एवम् विद्यालयहरुमा विद्यार्थीको भीड लाग्ने गरेको छ । बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् ।

यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ ।

यसपछि सरस्वती कवच पाठ गरिन्छ । आजबाट क्रमशः आजबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठीहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत गर्ने प्रचलन समेत रहीआएको छ ।

यता मिथिलाञ्चलमा आजको दिन हलो र हरुवाको पूजा अर्चना गर्ने प्रचलन रहीआए पनि आजभोली सो परम्परा हराउँदै गएको छ । यसमा खासगरी आजको हलोको पूजा गरेर खेतमा अनिवार्य रुपमा गोरुलाई जोत्ने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले सांस्कृतिक,साहित्यिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily