
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन् ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट माग्दै राजनीतिक सहकार्यका लागि हात अघि बढाउन भनेका हुन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।
देउवाले अध्यक्ष ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिष्पर्धाको अनुरोध गरेको बताइएको छ । देउवाले पठाएको पत्रमा भनिएको छ, ‘यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आआफ्ना दृष्टिकोण र उमेदवारका साथ खडा छौं । लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं ।’
उनले पत्रमा समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्ने भन्दै त्यही स्मरणसाथ ‘यो पत्र यहाँलाई लेखिरहेको छु र रास्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु । रास्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा संभव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ । विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिस्ट पहिचान रहिआएको छ,’ देउवाले लेखेको पत्रमा उल्लेख छ ।
यसअघि नेकपा एमालेले कांग्रेसबाहेकका पार्टीलाई पत्र लेख्दै आफ्ना उमेदवार सुवास नेम्वाङसँग मत मागेको छ । कांग्रेसले भने राष्ट्रपतिमा सहमतिको प्रयासस्वरुप एमालेलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । यसअघि ओलीले पनि कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

