
वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् ।

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला अदालत सप्तरीमा कार्यरत प्याकुरेलको केही दिन अगाडि मात्रै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा काज सरुवा भएको स्रोतले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जनकुमार दाहालकाअनुसार प्याकुरेललाई जेठ २४ गतेनै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
राती किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले जानकारी दिए । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ ।

