Aadarsh-Daily

मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने

ad-4p

वीरगञ्ज । मधेस विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ ।

content ad p2

स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको नाम दर्ता भइरहेको र आउँदो मङ्सिर ४ गतेदेखि पठनपाठन सञ्चालन हुने विश्वविद्यालय प्रशासनले जनाएको छ ।

“कानुन सङ्कायतर्फ बीए एलएलबीमा भर्ना हुने विद्यार्थीको छनोट प्रवेश परीक्षा (इन्ट्रान्स)माध्यमबाट गरिएको र इन्ट्रान्सबाट छनोट भएका विद्यार्थीको यही असोज १५ गतेसम्म नाम दर्ता हुन्छ”, मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भने, “त्यसपछि हिन्दू धर्मावलम्बीहरूको चाडपर्व नै सुरु हुन्छ, त्यसैले छठपर्वपछि कक्षा सञ्चालन हुनेछ ।” अहिलेसम्म ७०–८० विद्यार्थीले नाम दर्ता गराइसकेको उनको भनाइ छ ।

विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तर्वार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । उहाँका अनुसार विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा सी प्लस अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

content left

मधेस विश्वविद्यालयलाई कानुन सङ्कायतर्फ एक सय १०, जनप्रशासनतर्फ ५५ वटा कोटा निर्धारण गरिएको छ । पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ ।

विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङलगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा ‘हब’का रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए ।

विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छ भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दिर)को २७ बिघा जग्गा पाएको छ ।

बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको छ भने पोखरिया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व मधेस विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षक, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाई पारित गरिसकेको छ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily