Aadarsh-Daily

स्वास्थ्य मन्त्रीले नारायणी अस्पतालको अनुगमन गर्दै भने- समस्याहरूको सूची तयार पार्नुस, बजेट व्यवस्थापन मेरो जिम्मामा छ

ad-4p

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गरेका छन्।

content ad p2

मङ्गलवार बिहानै वीरगञ्ज पुगेका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरे।

कुराकानीका दौरान मन्त्री यादवले  उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा जानकारी लिए। बिरामीहरूले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरे।

मन्त्री यादवले बिरामीले गरेको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा एनामुल हकलाई निर्देशन दिए। फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिए।

content left

अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गरे। सो क्रममा मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आइरहेको दुखेसो पोखे। उनले भने, ‘अस्पतालमा रहेका अधिकांश भवनहरूको अवस्था जर्जर छ। वर्षायाममा पानी चुहिँदा बिरामीहरूको उपचारमा कठिनाइ आउँछ।’

डा हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको बताए। ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ। हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ। बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उनले भने।

मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न आफू लागिपरेको बताए। उनले भने, ‘अस्पतालको भवन निर्माणका लागि सबै प्रक्रिया अगाडि बढेपनि केही स्वार्थी व्यक्तिले अदालतमा मुद्दा हालेको कारण काम अगाडि बढेको छैन। मैले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर फास्ट ट्र्याकमा मुद्दाको फैसला गर्न आग्रह गरेको छु।’

उनले अस्पतालको पूर्वाधार विकासदेखि औषधि उपकरण खरिदका लागि पनि आफूले मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिए। त्यस्तै उनले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार आफू काम गरिरहेको बताए।

मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिए। ‘मेसु सा’ब समस्याहरूको सूचीसँगै तत्कालै, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको एउटा रिपोर्ट तयार पारेर तपाईँ मन्त्रालय आउनुहोस्,’ उनले भने, ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ। के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ।’

त्यसै गरी अनुगमनमा सहभागी  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गरे। उनले सोका लागि आवश्यक सम्पूर्ण सहयोग वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे।

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily