
कलैया उपमहानगरपालिकामा आजदेखि विश्व वातावरण दिवस तथा ट्राफिक सचेतना सप्ताहको संयुक्त कार्यक्रम सुरु भएको छ। वातावरण संरक्षण र सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख विनोद साह, प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारी, तथा प्रमुख प्रशासनिक अधिकृत नाथु साह लगायत विभिन्न सरकारी अधिकारीहरूको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख साहले वातावरण संरक्षण र सुरक्षित सवारी सञ्चालन नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै, “सचेतनामूलक अभियानहरूले जनमानसमा व्यवहारिक परिवर्तन ल्याउने विश्वास लिएको छु,” भने।

सीडीओ बसन्त अधिकारीले ट्राफिक नियमको पालना र वातावरणमैत्री जीवनशैली अपनाउन सबै नागरिकलाई आग्रह गरे। उनले यस्तो संयुक्त अभियानले दीर्घकालीन सामाजिक लाभ दिन सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रम अन्तर्गत सडक सुरक्षासम्बन्धी सचेतनामूलक र्याली, वृक्षारोपण, सरसफाइ अभियान तथा विद्यालय र समुदायस्तरका संवाद कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
एक साता लामो हुने उक्त सचेतनामूलक अभियानबाट कलैयाबासीमा वातावरणीय जिम्मेवारी र सडक सुरक्षाप्रति चेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

