
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँले, जबकि डिजेल र मट्टीतेल चार रुपैयाँले महँगिएको हो। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

मूल्यवृद्धिपछि अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य १६५ रुपैयाँ पुगेको छ। यिनै क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ १४९ रुपैयाँ निर्धारण गरिएको छ।
सुर्खेत र दाङमा पेट्रोल १६४ र डिजेल–मट्टीतेल १४८ रुपैयाँ पुगेको छ। चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र अमलेखगञ्ज क्षेत्रका उपभोक्ताले पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ, जबकि डिजेल र मट्टीतेल १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
यसैगरी, हवाइ इन्धनको मूल्य पनि बढाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ।
निगमका अनुसार बढ्दो अन्तर्राष्ट्रिय मूल्यका कारण मूल्य समायोजन गरिएको हो।

