
बाढी पूर्वानुमान महाशाखाले आज देशभरका ३३ जिल्लाका विभिन्न नदी–खोलामा बाढी आउन सक्ने चेतावनी दिएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीमा बाढीको मध्यम जोखिम छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर र सोलुखुम्बुमा पनि खतरा रहेको छ।
त्यसैगरी, गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी तथा लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, प्युठान, बर्दियामा बाढीको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका डोटी र बैतडीमा समेत बाढी आउने जोखिम देखिएको महाशाखाले जनाएको छ।

जोखिम भएका नदी–खोला तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज देशका धेरै स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति कोशी प्रदेशको पहाडी भूभाग, मधेस प्रदेश, साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ।
पछिल्ला ६ घण्टामा तनहुँ, कञ्चनपुर, बर्दिया, नवलपरासी, कास्की, बाग्लुङलगायतका स्थानमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जनाएको छ।

