
बारामा मानवतालाई सरमसार बनाउने जघन्य घटना सार्वजनिक भएको छ। स्मार्ट कोचिङ सेन्टरमा अध्यापन गर्दै आएका शिक्षक नागेश्वर यादवलाई प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाकै कार्यकक्षमा अमानवीय ढंगले कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको हो।
पीडित यादवका अनुसार, उनी विद्यार्थीहरूलाई साथमा लिएर एसईई ग्रेडवृद्धि परीक्षाका लागि अभ्यास पुस्तिकाको फोटोकपी गर्न बेलहिया बजार गएका बेला ५–७ जनाको समूहले गुण्डा शैलीमा नियन्त्रणमा लिएर वडा कार्यालय पुर्याएको थियो। त्यहाँ उनलाई शरीर बन्धक बनाई नाङ्गो पारेर मरणासन्न हुनेगरी कुटपिट गरिनुका साथै वडाध्यक्ष कुशवाहाले मार्ने र खोलामा फाल्ने धम्की दिएको उनले दाबी गरेका छन्। यादवका अनुसार, सो दिन वडाध्यक्षसहित संलग्न व्यक्तिहरू रक्सीमा मातेका थिए।

घटना करिब एक हप्ता पुरानो भए पनि उक्त कुटपिटको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल बनेपछि विषयले थप चासो पाएको हो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, वडाध्यक्ष कुशवाहा अहिले प्रहरी हिरासतमा रहेका छन् र उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
उता, माओवादी केन्द्रले भिडियो सार्वजनिक भएपछि कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ महिनाको लागि निलम्बन गरेको छ। प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा कुशवाहाले पार्टीको नीति, नियम र अनुशासन विपरीत कार्य गरेको भन्दै कारबाही गरिएको उल्लेख छ।
तर, आम नागरिकले भने यस्ता जनप्रतिनिधिलाई ६ महिनाका लागि मात्र होइन, आजीवन पार्टी सदस्यताबाटै हटाउनुपर्ने माग गरेका छन्। राजनीतिक विश्लेषकहरूले समेत भिडियो सार्वजनिक भएपछि मात्र माओवादी केन्द्रले नाटकीय ढंगले कारबाही गरेको टिप्पणी गरेका छन्।

