
विद्यालय शिक्षा ऐनको मस्यौदाविरुद्ध नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको पहिलो चरण अन्तर्गत पर्सामा धर्ना कार्यक्रम सम्पन्न गर्दै शिक्षा विकास तथा समन्वय इकाई पर्सालाई ध्यानाकर्षणपत्र बुझाएको छ।
महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवको अध्यक्षतामा आज दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिइएको थियो। त्यसपछि इकाई प्रमुख हरि राउतलाई ध्यानाकर्षणपत्र बुझाइएको अध्यक्ष यादवले जानकारी दिए।

उनका अनुसार, १३ गते देशभरका स्थानीय तहमा धर्ना सहित ध्यानाकर्षणपत्र बुझाइएको थियो भने आज ७७ वटै जिल्लामा २ घण्टा धर्ना दिएर इकाई प्रमुखमार्फत ध्यानाकर्षणपत्र बुझाउने केन्द्रीय कार्यक्रमअन्तर्गत पर्सामा पनि धर्ना गरिएको हो।
गत चैतमा २९ दिनसम्म सडक आन्दोलन गरेका शिक्षकहरूले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको विरोध स्वरूप पुनः आन्दोलन थालिएको महासंघले जनाएको छ। अध्यक्ष यादवले गत वैशाख १७ गते सरकारले महासंघसँग गरेको ९ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरिएको भए पनि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना–प्रविधि समितिले सम्झौतालाई बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक मस्यौदा पेस गरेकाले आन्दोलन अपरिहार्य भएको बताए।
“अबको आन्दोलन विगतका भन्दा कडा हुने गरी तयारी भइरहेको छ,” अध्यक्ष यादवले चेतावनी दिए।
धर्ना कार्यक्रममा पर्साका १४ वटै पालिकाका प्रतिनिधि शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघ पर्साका सचिव विनोद गिरीले गरेका थिए।

