
आज देशले संविधान प्राप्त गरेको दस वर्ष पूरा भएको छ । दशकभरि संविधान कागजमा मात्र बाँचेको छ, व्यवहारमा भने घाइते भएको छ भन्ने यथार्थ लुकाउन सकिँदैन ।
जनताको रक्तपसीनाबाट लेखिएको संविधानलाई दलहरूले आफ्नो कुर्सीको किल्ला बनाइदिए । संसद् विघटन गर्ने होस् वा सत्तासाझेदारीको सौदाबाजी—संविधान दलहरूको स्वार्थमा पटक–पटक बलि चढाइयो । संवैधानिक निकाय वर्षौंदेखि रिक्त छन्, कानुन संशोधन गर्न सरकार–दलहरू उदासीन छन् । अनि पनि नेताहरू भाषणमा संविधानको रक्षा गर्ने बताउँछन्—व्यवहारमा भने संविधानलाई घाइते बनाइरहेका छन् ।

हालैको जेन–जी आन्दोलन यही असफलताको परिणाम हो । सडकमा नारा लगाउने युवाहरूले देखाएको आक्रोशलाई दलहरूले बुझ्ने कि नबुझ्ने भन्ने प्रश्न छ । उनीहरूले उठाएको असन्तोषलाई ‘घुसपैठ’ वा ‘उपद्रव’ भनेर पन्छाउने हो भने संविधानप्रतिको विश्वास अझै खस्किँदै जानेछ ।
संविधान दिवसलाई सरकारले औपचारिक कार्यक्रममा सीमित पार्दै ‘राष्ट्रिय एकता’ को नारा लगाएको छ । तर वास्तविकता के हो भने नागरिकले दलहरूप्रति विश्वास गुमाइसकेका छन् । संविधान जोगाउनभन्दा पहिले दलहरूले आफ्नो चरित्र सुधार्नु जरुरी छ ।
दशक पुरानो संविधानलाई अब दलहरूले आफ्नो स्वार्थको हतियार नभई नागरिक अधिकारको ढाल बनाउन जरुरी छ । नत्र, इतिहासले दलहरूको नाम संविधानको घाउसँगै मात्रै सम्झिनेछ ।

