
जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेका संरचना पुनर्निर्माण गर्न वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने निर्णय गरेको छ। शनिबार बसेको विशेष अधिवेशन (१८औं नगरसभा) ले मेयर राजेशमान सिंहद्वारा प्रस्तुत संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।
गत भदौ २४ गतेको आन्दोलनमा अराजक समूहले महानगरको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाट गरी नष्ट पारेको थियो। नगरसभा बैठकले सेवाप्रवाहलाई निरन्तरता दिन र प्रशासनिक संरचना पुनःनिर्माणलाई तत्काल प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै बजेट संशोधन गरेको हो।

यसअघि १७औं नगर परिषद्ले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको थियो। तर, विशेष अधिवेशनले पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजित रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए।
संशोधित बजेटअन्तर्गत प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचर, कार्यालय मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च हुने व्यवस्था गरिएको छ।
त्यस्तै, नगरसभाले आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त वीरगन्ज महानगरपालिका–१२ का युवा असहाब आलमका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ।
नगरसभाले संशोधित बजेटमार्फत तत्काल पुनर्निर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने स्पष्ट पारेको छ।

