
वीरगञ्ज भानु चोकस्थित शाह प्याराडाइस होटलको कोठा नम्बर १११ मा दुई भारतीय नागरिक मृत फेला परेका छन्।

मृतक भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी र उनका २४ वर्षीय छोरा सागर आचारजी रहेको पर्सा प्रहरीले पुष्टि गरेको छ। उनीहरूले असोज १९ गते बिहान ४ बजे कोठा लिएका थिए।
मङ्गलवार साँझसम्म कोठा नखुलेपछि प्रहरीलाई खबर दिइएको थियो। भेन्टिलेटरबाट हेर्दा छोरा सागर पंखामा झुन्डिएको र बुवा सजल बेडमा पल्टिएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ।
डिएसपी किशोर लम्सालका अनुसार प्रारम्भिक रूपमा आत्महत्याको आशंका भए पनि भारतीय महावाणिज्य दूतावासका प्रतिनिधि उपस्थित भएपछि मात्र ढोका खोल्ने र विस्तृत अनुसन्धान अघि बढाइनेछ।

