
जेन–जी आन्दोलनका क्रममा सरकारी र निजी भवनमा भएको आगजनीमा प्रज्वलनशील रसायन प्रयोग भएको हो वा होइन भन्नेबारे वैज्ञानिक परीक्षण हुने भएको छ।
आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले महत्त्वपूर्ण स्थानहरूबाट खरानी संकलन गरी परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाउने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

नेपाली सेनाले संकलन गरेको विवरणअनुसार भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा झण्डै ७ सय संरचनामा क्षति पुगेको छ। तीमध्ये संसद् भवन, प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास र मन्त्रीहरूको आवासलगायत महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी भएको थियो।
यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका कैयौँ नेता र सरकारी अधिकारीका निजी आवासमा पनि आगजनी गरिएको थियो।
आगजनीको स्वरूप र तीव्रतालाई लिएर धेरैले रसायन प्रयोग र तालिमप्राप्त समूहको संलग्नता भएको आशंका व्यक्त गर्दै आएका छन्। अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स ले पनि विज्ञहरूलाई उद्धृत गर्दै “नेपालको जेन–जी आन्दोलनका क्रममा आगजनीका लागि रसायन प्रयोग भएको हुन सक्छ” भन्ने समाचार प्रकाशित गरेको थियो।
प्रयोगशालाले परीक्षण प्रतिवेदन पेश गरेपछि आयोगले त्यसलाई आफ्नो अन्तिम निष्कर्षमा समावेश गर्ने जनाएको छ।

