
नेपालीहरूको महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व छठलाई लक्षित गर्दै पर्सा जिल्लाभरि माछा, मासु र मदिरा सेवन तथा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रतिबन्धको जानकारी दिएका हुन्। प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार कार्तिक १० गते सझिया घाटका दिन र कार्तिक ११ गते पारनका दिन बिहान ११ बजेसम्मका लागि पर्सा जिल्लाभरि माछा, मासु र मदिरा सेवन तथा विक्री वितरणमाथि प्रतिबन्ध लागू गरिएको छ।
सुवेदीले भने, “छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै हामीले प्रतिबन्ध लगाएका हौँ। मधेसी समुदायले सामान्यतया छठ अवधिभर माछा, मासु र मदिरा सेवन गर्दैनन्, तर पर्वको पवित्रता जोगाउन प्रशासनले कदम चालेको हो।”
यसअघिका वर्षहरूमा पनि पर्सा जिल्लाको स्थानीय प्रशासन र स्थानीय तहहरूले छठ पर्वको अवसरमा यस्तै प्रतिबन्ध लगाउँदै आएका थिए। प्रशासनको विश्वास छ कि यस कदमले पर्वको पवित्र वातावरण कायम राख्न र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्न सहयोग पुग्नेछ।

