
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार सुनिश्चित गर्न चारवटा कानूनमा संशोधन आवश्यक देखिएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा गृह मन्त्रालयलाई राय पठाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विद्यमान कानूनले विदेशमा रहेका नेपाली नागरिकको मतदान विषयलाई सम्बोधन नगरेकोले आवश्यक संशोधनबारे अध्ययन र छलफलपछि सुझाव पठाइएको हो। संशोधन आवश्यक पर्ने कानूनहरूमा निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐन समावेश छन्।
विदेशमा रहेका मतदातालाई समानुपातिक निर्वाचन प्रणालीतर्फ कसरी सहभागी गराउने भन्ने विषयमा पनि छलफल भइरहेको छ। सरकारले हाल अध्यादेशमार्फत कानून संशोधनको तयारी गरिरहेको छ।
फागुन २१ का लागि तोकिएको चुनाव आउन १ सय १९ दिन मात्र बाँकी हुँदा पनि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने वा नदिने निर्णय अझै हुन सकेको छैन।

