
भियतनाममा निरन्तर परेको भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। पछिल्ला केही दिनयता लगातार बढिरहेको प्राकृतिक विपत्तिले देशभर ठूलो मानवीय तथा भौतिक क्षति पुर्याणएको भियतनामी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अहिलेसम्म १ लाख ८६ हजारभन्दा बढी घर बाढीले क्षतिग्रस्त बनाएको छ। साथै ३० लाखभन्दा धेरै पशुचौपाया बगाएको बताइएको छ। कुल क्षति करोडौँ पाउन्ड बराबर पुग्ने अनुमान सरकारी निकायहरूले गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार, पहाडी प्रान्त डाक लाक सर्वाधिक प्रभावित क्षेत्र बनेको छ। त्यहाँ मात्र नोभेम्बर १६ यतादेखि ६० जनाभन्दा बढीको ज्यान गएको उल्लेख छ।
केही हप्ताको अन्तरालमै आएको कालमेगी र बुआलोई आँधीका कारण भियतनाम हालसम्मकै गम्भीर चरम मौसमी घटनाको सामना गरिरहेको बताइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैन्य र प्रहरी दुवै संरचना व्यापक रूपमा परिचालन भएका छन्।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका प्रभावले भियतनाम जस्ता उप–उष्णकटिबन्धीय देशहरूमा चरम मौसमी घटनाको जोखिम बढ्दै गएको छ, जसका कारण यस्ता आँधी–विपत्तिको आवृत्ति र तीव्रता दुवै बढेका छन्।

