
रौतहटको मौलापुर क्षेत्रमा प्रहरीले श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा नियमित जाँचका क्रममा शुक्रबार अवैध रकम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–११ भगवानपुर निवासी ३७ वर्षीय मुन्ना जैसवाल रहेका छन्। जैसवाल हरनैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा जयनगरतर्फ जाँदै गर्दा रोकिएर जाँच गरिएको थियो।
जाँचका क्रममा मोटरसाइकलमा झुण्ड्याइएको झोलाबाट १ हजार दरका ८३३ थान, ५ सय दरका ६२५ थान र १ सय दरका १५ थान गरी जम्मा ११ लाख ४७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
रकमको स्रोत खुलाउन नसकेपछि जैसवाललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। मौलापुर–देवाही गोनाही सडकखण्डको लाल बकैया नदी पुल नजिकै गरिएको चेकजाँचकै क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

