
पर्सा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इस्तखारले चुनावी अभियानलाई तीव्र बनाएका छन्। आमजनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’बाट प्रतिस्पर्धामा उत्रिएका २६ वर्षीय जेनजी युवा उम्मेदवार इस्तखार अहिले गाउँ–गाउँ पुगेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन्।
आज उनले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर–२ मा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। अभियानका क्रममा इस्तखारले युवाका समस्या, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासका विषयमा मतदाताको धारणा सुनेका थिए।

स्थानीयवासीसँगको संवादमा उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदमा युवाको सशक्त आवाज आवश्यक रहेको बताए। “अब नेतृत्व पुस्तान्तरणको समय आएको छ, राजनीति जनतासँग जोडिनुपर्छ,” उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेही नेतृत्वको अपेक्षा गर्दै इस्तखारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
जेनजी पुस्ताबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा मोहम्मद इस्तखारको सक्रियता र घरदैलो अभियानले पर्सा–३ मा चुनावी माहोल थप चर्किंदै गएको देखिन्छ।

