
वीरगञ्ज । कास्कीको लिचीवारि घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता ले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।
गुप्ताको निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेल को संयुक्त इजलासमा पेशी तोकिएको हो।
यसअघि विशेष अदालत ले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चले यसअघि निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो।

पोखराको लिचीवारि भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्ली रत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ विरुद्ध आपसी मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर गरेको थियो।
गुप्ताले अदालतमा दिएको बयानमा आफूले कुनै घुस नलिएको दाबी गरेका छन्। तर प्रारम्भिक प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गर्दै विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो।

