Aadarsh-Daily

चैत्र नवरात्र आजदेखि सुरु , पहिलो दिन शैलपुत्रीको पूजा

ad-4p
content left

वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व चैत्र नवरात्र आज बिहीबारदेखि सुरु भएको छ। चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिदेखि सुरु हुने यो नवरात्र आगामी चैत्र १३ गतेसम्म चल्नेछ।

वर्षमा आश्विन र चैत्र गरी दुई पटक मनाइने नवरात्रमा देवी दुर्गाको विशेष पूजा–आराधना गर्ने परम्परा छ। चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्म चल्ने यस पर्वलाई नेपालीहरूले ‘चैते दसैँ’का रूपमा पनि मनाउने गर्दछन्।

नवरात्रको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गरिन्छ। मार्कण्डेय पुराण अनुसार पर्वतराज हिमालयकी पुत्रीका रूपमा उत्पन्न भएकी देवीलाई शैलपुत्री भनिन्छ। नवदुर्गामध्ये पहिलो रूप मानिने शैलपुत्रीको पूजा–उपासना गरी नवरात्रको आरम्भ गरिन्छ।

नवरात्र अवधिभर भक्तजनहरूले शक्ति पीठहरूमा घटस्थापना गरी दुर्गाका विभिन्न स्वरूपहरूको पूजा गर्ने गर्दछन्। साथै, महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष आराधना गरिन्छ। केही स्थानहरूमा बलि दिने परम्परा समेत रहेको छ।

नवरात्रको अन्तिम दिन राम नवमीका अवसरमा भगवान श्रीरामको जन्मोत्सव मनाइने गरिन्छ, जससँगै चैत्र नवरात्र समापन हुन्छ।

वीरगञ्जका गहवा माई मन्दिर, बिर्ता मन्दिर, कुमारी माई मन्दिर लगायतका धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। त्यसैगरी बारा जिल्लास्थित गढीमाई मन्दिरमा पनि श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ।

हिन्दु परम्पराअनुसार नवरात्रका नौ दिन नवदुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री—को क्रमशः पूजा गरिन्छ।

नवरात्रका अवसरमा घरघरमा जमरा राख्ने, दसैंघर सजाउने तथा शक्ति पीठमा पुगेर देवीको आराधना गर्ने परम्परा आज पनि निरन्तर रहेको छ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily