
वीरगञ्ज, ८ चैत । पर्सा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव ले निर्वाचन खर्च विवरण समयमै बुझाउँदै पारदर्शिताको उदाहरण प्रस्तुत गरेकी छन्।
आइतबार निर्वाचन कार्यालय पर्सामा बुझाइएको विवरणअनुसार यादवले फागुन २१ गते सम्पन्न निर्वाचनमा कूल ९ लाख १४ हजार ८३४ रुपैयाँ ९८ पैसा खर्च भएको जनाएकी छन्।

उनका अनुसार मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन आयोजना गरिएका गोष्ठी, अन्तरक्रिया र घरदैलो कार्यक्रममै सबैभन्दा बढी ३ लाख ९९ हजार ४०० रुपैयाँ खर्च भएको छ। यसले उनले जनतासँग नजिक रहेर अभियान सञ्चालन गरेको देखिन्छ।
यस्तै इन्धनमा २ लाख ४० हजार, सवारी साधन भाडामा १ लाख ८० हजार तथा प्रचारप्रसारमा ७० हजारभन्दा बढी खर्च भएको उनले विवरणमा उल्लेख गरेकी छन्।
उक्त क्षेत्रमा उनी विजयी हुन नसके पनि सीमित स्रोत–साधनका बीच सक्रिय र व्यवस्थित रूपमा चुनावी अभियान सञ्चालन गर्दै पारदर्शी हिसाब प्रस्तुत गर्नु उनको सकारात्मक पक्षका रूपमा हेरिएको छ।

