
काठमाडौं — नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी रहेको छ। बैठक सभापति गगन थापा को अध्यक्षतामा बसिरहेको हो।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनमा पार्टी पराजित भएपछि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए। उनले कार्यकर्ताबाट अपार माया, विश्वास र ऊर्जा प्राप्त भएको उल्लेख गर्दै जवाफदेहिताका आधारमा राजीनामा दिएको स्पष्ट पारे।
“मैले राजीनामा दिनु आफ्नो कर्तव्य ठानेँ। मैले दिएँ। तर तपाईंहरूले स्वीकृत गर्नुभएन। अब यो एउटा अध्याय समाप्त भएको छ र नयाँ अध्याय सुरु हुन्छ,” थापाले भने, “अब को ठिक र को बेठीक भन्ने बहस गर्नु उपयुक्त छैन।”

थापाले राजीनामाको विषयलाई लिएर थप विवाद नगर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै अब नयाँ बहस र नयाँ दिशातर्फ पार्टी अघि बढ्नुपर्ने धारणा राखे। उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन सम्पन्न गर्ने पनि बताए।
यसअघि शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। साथै, बैठकले हालै सम्पन्न निर्वाचनबारे प्रारम्भिक समीक्षा समेत गरेको थियो।
यता पार्टीभित्र शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि अघि बढाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का को नेतृत्वमा देउवा पक्षका शीर्ष नेताहरूबीच बैठक बसेको थियो, जसमा शेखर कोइराला समूह पनि सहभागी भएको बताइएको छ।
उक्त समूहले पुरानो केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। साथै, सर्वोच्च अदालत मा कांग्रेससम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसै सन्दर्भमा पनि गतिविधि अगाडि बढाउने तयारी गरिएको छ।

