

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने को राहदानी दुरुपयोग सम्बन्धी मुद्दा आज सर्वोच्च अदालत मा सुनुवाइका लागि पेशीमा चढेको छ। मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेल को इजलासमा परेको हो।
यसअघि लगातार चार पटकसम्म ‘हेर्न नभ्याइएको’ उक्त मुद्दा आजको सूचीमा १२ औं नम्बरमा राखिएको छ। लामिछानेले नेपाली र अमेरिकी दोहोरो राहदानी लिई प्रयोग गरेको आरोप लगाउँदै युवराज पौडेल ले दुई वर्षअघि रिट दायर गरेका थिए।
रिटमा महान्यायाधिवक्ता कार्यालय ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको दाबी गरिएको छ। तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेल ले ६ चैत २०७९ मा उक्त मुद्दा नचल्ने निर्णय गरेका थिए।
यसअघि सर्वोच्चले तीन पटक फाइल झिकाउने आदेश दिएको थियो। २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँल को इजलासले कारण देखाउ आदेश जारी गर्दै राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे स्पष्टिकरण माग गरेको थियो। आवश्यक कागजात प्राप्त भएसँगै आज दोहोरो सुनुवाइ हुन लागेको हो।

