

वीरगन्ज । पर्सा जिल्लाका नेकपा एमाले का नेताहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई वर्तमान सरकारले प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न वीरगञ्ज मा आयोजित जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा बोल्दै एमाले नेताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। उनीहरूले वर्तमान सरकारले एमाले र नेपाली कांग्रेस विरुद्ध पूर्वाग्रहपूर्ण राजनीति गरिरहेको आरोप लगाए।
नेताहरूले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोग को प्रतिवेदन अपूर्ण र एकपक्षीय रहेको दाबी गर्दै उक्त प्रतिवेदन सार्वजनिक नगरी केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक लाई पक्राउ गर्नु गलत भएको बताए।
भेलामा सहभागी नेताहरूले पार्टीभित्र देखिएका कमीकमजोरी सुधार गर्दै संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डेय ले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्देशन नमान्ने नेतामाथि कडा कारबाही गर्नुपर्ने बताए। साथै, पार्टीका आन्दोलनहरूमा उम्मेदवार, निर्वाचित मेयर तथा वडा अध्यक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने उनको माग थियो।
डा. विशम्भर कुमार शर्मा को अध्यक्षतामा सम्पन्न उक्त भेलामा केन्द्रीय सदस्यहरू प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव लगायतका नेताहरूको सहभागिता रहेको थियो।

