
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ७०० प्रतिनिधि सहभागी हुँदैछन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता हो।
उद्घाटनसँगै बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन हुनेछ। प्रतिनिधिहरूको समूहगत छलफलका लागि हिमाल, पहाड र तराई–मधेश नामका तीन ठूला हल तयार पारिएका छन्। प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसले यसपटक भौतिक ब्यानर, पोस्टर तथा पर्चा निषेध गरी डिजिटल माध्यमबाट प्रचार गर्ने जनाएको छ।

महाधिवेशनले २३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व तथा विभिन्न पेशागत क्षेत्रका विज्ञलाई पार्टी संरचनामा समेट्ने व्यवस्था गरिएको छ।
निर्वाचन तालिकाअनुसार असोज १९ गते राष्ट्रियसभा गृहमा उम्मेदवारी दर्ता हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
यसैबीच, कांग्रेसको पदाधिकारी संख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव पनि बन्दसत्रमा पेस हुने भएको छ। प्रस्तावअनुसार १ सभापति, ४ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री र १ कोषाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्ताव पारित भएपछि नयाँ संरचनाअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

