
श्रीसियाका स्थानीयको धर्ना स्थलमा प्रशासन वार्तावीरगञ्ज, २१ असोज । जग्गा अधिग्रहण भएको लामो समय बितिसक्दा पनि बाँकी मुआब्जा नपाएको भन्दै वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयले गरेको धर्नालाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता सुरु भएको छ।
ड्राइपोर्टको मूल गेटमा तीन दिनदेखि धर्नामा बसेका स्थानीयसँग समस्या समाधानका लागि बुधबार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, भन्सार प्रमुख कृष्णप्रसाद मैनालीलगायतको टोलीले छलफल गरेको थियो। धर्नास्थलमै भएको प्रारम्भिक छलफलपछि प्रशासन र स्थानीय प्रतिनिधिबीच औपचारिक वार्ता गर्ने सहमति बनेको हो।

सोही सहमतिअनुसार बिहान ९ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रजिअ दाहालसहितको टोली र स्थानीय प्रतिनिधिबीच वार्ता भइरहेको छ। वार्तापछि प्रशासनले समस्या समाधानका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
स्थानीयले भने वार्ता भइरहे पनि माग सम्बोधन नभएसम्म धर्ना नरोकिने बताएका छन्। उनीहरूले बाँकी मुआब्जा तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
स्थानीयका अनुसार करिब १२ वर्षअघि ड्राइपोर्टका लागि जग्गा अधिग्रहण गरिएको थियो। त्यस क्रममा खेत तथा अन्य जग्गाको मुआब्जा वितरण भए पनि घडेरी, घर, विद्यालय, अस्पताल, प्रहरी चौकीलगायत संरचनाको मुआब्जा अझै वितरण हुन बाँकी रहेको उनीहरूको भनाइ छ। स्थानीयले बाँकी सम्पूर्ण जग्गा तथा संरचनाको उचित मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।

