Aadarsh-Daily

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

ad-4p

काठमाडौँ । लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्। उनीहरूले लाइसेन्स पाउन सकेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार विगत १५ महिना देखि लाइसेन्स छाप्ने काम पूर्ण क्षमता अनुसार भएको थिएन। आंशिक छपाई भइरहेको थियो, त्यसमा पनि पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प झैँ छ। अहिले विभागले निकै सीमित सङ्ख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जाने व्यक्तिहरूलाई लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक साढे ३सय देखि ४सय सम्म हुने गरेको छ।

content ad p2

विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो। विभागसँग भएका सीमित कार्डबाट निकै थोरै सङ्ख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्। उनीहरूले कहिले लाइसेन्स पाउँछन्, यसको टुङ्गो छैन। सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नु पर्ने लाइसेन्सको संख्या अहिले महिनै पिच्छे थपिएको थपिएकै छ। यति बेलासम्म छाप्न बाँकी रहेका लाइसेन्सको संख्या झन्डै १४ लाख पुगिसकेको छ। विभागले अहिले लाइसेन्स पाउन नसकेका सवारी चालकहरूलाई अस्थायी प्रकृतिको लाइसेन्स दिने गरेको छ। यस्तो लाइसेन्स निकै कमजोर छ। केही दिनमै नष्ट हुने सम्भावना रहन्छ।

content left

विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले पर्याप्त लाइसेन्स छाप्न नसक्दा पछिल्लो ५ महिना यता वैदेशिक रोजगार र विदेशमा अध्ययन गर्न जाने व्यक्तिहरूलाई मात्र लाइसेन्स दिन सकिएको बताए। उनका अनुसार आगामी माघ २ देखि ठुलो सङ्ख्यामा लाइसेन्स छाप्ने गरी तयारी अघि बढाइएको छ। ‘पुस महिना भित्रै पहिलो खेपमा झन्डै ६ लाख कार्ड आउने भनेको छ। कार्ड आउने बित्तिकै लाइसेन्स छाप्न सुरु गर्छ’रिजालले भने, ‘माघको २ गते देखि ठुलो परिणाममा लाइसेन्स छाप्ने गरी तयारी अघि बढाएका छौ।’ विभागले जर्मनीको म्युहलवार कम्पनीसँग १२ लाख कार्ड आपूर्ति गर्ने गरी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार पुसमा पहिलो खेपमा कार्ड आउन लागेको उनले जनाए। ‘लाइसेन्स छाप्न अहिले प्रदेश सरकारहरूले पनि बजेट छुट्टाएका छन्। यसबाहेक हामीले पनि लाइसेन्स छाप्ने नयाँ मेसिन खरिद गर्न टेन्डर खालेका छौ’रिजालले भने,‘नयाँ मेसिन आए पछि लाइसेन्स छाप्ने समस्या हट्ने छ।’

विभागसँग लाइसेन्स छाप्न अहिले एउटा मात्र मेसिन छ। थप एउटा नयाँ एउटा मेसिन आए पछि लाइसेन्स छाप्ने समस्या पूर्ण रूपमा सुल्झने उनको बुझाई छ। नेपालको लाइसेन्स प्रणालीमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नियन्त्रण चलाएको छ। तर विभागले कार्ड आपूर्ति गर्न जर्मनीको कम्पनीसँग सम्झौता गरेको छ। जर्मनी कम्पनीको कार्डसँग नेपालको लाइसेन्स प्रणाली फिट गर्नका लागि झन्डै ४ महिना लागेको थियो। यसबाट पनि समयमा लाइसेन्स छाप्ने काम प्रभावित भएको विभागको भनाइ छ।

रिजालका अनुसार विभागसँग भएको एउटा मेशिनले एक घण्टामा ५सय लाइसेन्स छाप्न सक्छ। तर विभागसँग कार्डको अभाव हुँदा निकै थोरै सङ्ख्यामा लाइसेन्स छाप्ने काम भइरहेको छ। लाइसेन्सको परीक्षा पास गरेका सवारी चालकहरूलाई तत्काल लाइसेन्स दिनु पर्ने जिम्मेवारी सरकारको हो। देश सङ्घीयतामा गए पछि यो अधिकार अहिले अहिले प्रदेश सरकारको जिम्मेवारीमा सरेको छ। तर सात वटै प्रदेश सरकारहरूले अहिलेसम्म लाइसेन्स छाप्ने र वितरण गर्ने काम गर्न सकेका छैनन्। त्यसैले केन्द्र सरकारले नै अहिलेसम्म लाइसेन्स छाप्ने र वितरण गर्ने जिम्मेवारी लिइरहेको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily