
एम्नेस्टी इन्टरनेशनलले नेपालमा मानव अधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक रहेको ठहर गरेको छ । वार्षिक प्रतिवेदन २०२४/२५ सार्वजनिक गर्दै एम्नेस्टीले नेपालको मानव अधिकार अवस्था खस्किएको जानकारी गराएको हो ।

नेपालले अभिव्यक्ति स्वतन्त्रता, महिला र सीमान्तकृत समुदायको न्याय, जबरजस्ती निष्काशन र द्वन्द्वकालीन मुद्दाहरू समाधानमा चुनौतीहरूको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई कडाइका साथ सीमित गरेको एम्नेस्टी इन्टरनेशनलले उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा एम्नेस्टी इन्टरनेशनलका नेपाल प्रतिनिधि निराजन थपलियाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशन गरेको बदलामा पक्राउ गरिएको बताउनुभयो । यस्तै मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई थप खुम्च्याउने खतरा बढेको समेत प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२४ मा महिला र बालिकाविरुद्ध हिंसा व्यापक बढेको उल्लेख गर्दै प्रतिवेदनमा बाल विवाह र छाउपडीजस्ता हानिकारक प्रथाहरू कानूनी निषेधका बाबजुद कायमै रहेको बताइएको छ । हजारौं नेपाली युवा अवैध भर्ना शुल्क र श्रम सुरक्षाविना खाडीका देश र मलेशियामा खतरनाक काममा जान बाध्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

