
पचरोटा नगरपालिका–१, पिपरपाटीका धर्मराज साहको परिवारमाथि मंगलबार राति एक अकल्पनीय विपत्ति आइलाग्यो। भारतको रक्सौलबाट पाँच महिनाको छोराको उपचार गराएर घर फर्किंदै गर्दा छौडादानोको बखरी नजिकै सवारी दुर्घटना भयो, जसले एकैपटक परिवारका तीन सदस्यको ज्यान लियो।
दुर्घटनामा धर्मराज साहकी आमा, श्रीमती र पाँच महिनाका नाबालक छोराको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। एक्कासी भएको यस दुर्घटनाले साह परिवारलाई मात्र होइन, सम्पूर्ण गाउँलाई स्तब्ध बनाएको छ।

गम्भीर घाइते भएका धर्मराज साह अहिले भारतको मोतिहारीस्थित अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। अत्यन्तै साधारण परिवारमा जन्मिएका धर्मराजका लागि अहिले उपचार खर्च जुटाउनु ठूलो चुनौती बनेको छ। अभाव, पीडा र शोकले ढाकिएको यो परिवार सहयोगको प्रतीक्षामा छ।
स्थानीयहरूका अनुसार साह परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचार र अन्त्येष्टि खर्च जुटाउनसमेत कठिन भइरहेको छ। गाउँमा शोकको लहर मात्र होइन, एक प्रकारको मौन अपिल पनि गुञ्जिएको छ — “कसैले केही गर्न सक्ला?”
जीवनको एक क्षणमा सबै गुमाउने पीडा कस्तो हुन्छ भन्ने उदाहरण बनेको छ यो दुर्घटना। धर्मराज साहको अवस्था गम्भीर रहेकोले तत्काल सहयोग आवश्यक छ भन्ने स्थानीयबासीको भनाइ छ।

