
२०५८ साल जेठ १९ गतेको रात, नेपाली इतिहासको सबैभन्दा दर्दनाक र अनौठो मोड। राजदरबारको भीषण रक्तस्नानले राजा, रानी, युवराजदेखि राजपरिवारका अधिकांश सदस्यको ज्यान लियो—तर अझैसम्म पनि त्यो रात के भएको थियो भन्ने प्रश्न नेपाली जनताको मनमा झन् गहिरिँदै गएको छ।
२४ वर्ष बितिसकेको छ, तर नेपाली जनताले स्वीकार गर्नसक्ने खालको निष्पक्ष र पारदर्शी अनुसन्धान प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। जुन घटनाले देशको शासन प्रणाली, भावनात्मक स्थायित्व र राजनीतिक मार्गचित्र नै उल्ट्यायो, त्यस घटनाको सत्य अझैपनि ‘गोप्य फाइल’ भित्र थुनिएको छ।
सरकार फेरिए, प्रणाली परिवर्तन भयो, राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापनासमेत भयो। तर, दरबार हत्याकाण्डका पीडितका सवाल, जनताको जिज्ञासा र राष्ट्रको आत्मसम्मान भने झन् कुण्ठित बनिरहेको छ।
राज्य संयन्त्रको अकर्मण्यता वा नियोजित मौनता?
अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेर्दा यति ठूलो घटना सम्बन्धी रिपोर्ट जनसाधारणले पढ्न पाउने, छलफल गर्न पाउने र इतिहासबाट सिक्न पाउने खालको हुनु पर्ने हो। तर नेपालमा यसको उल्टो भयो। तत्कालीन छानबिन समितिले बनाएको प्रतिवेदन अहिले पनि सार्वजनिक भएको छैन। योभन्दा ठूलो विडम्बना के होला?
राज्य संयन्त्रहरूले ‘राजनीतिक स्थायित्व’ वा ‘संवेदनशीलता’ को नाममा सत्य लुकाउने कूटनीति रोजे। तर यसले सत्ताका मालिकहरू प्रति जनता अविश्वासी बन्न थालेका छन्। किनभने सत्य लुकाएर गरिएको स्थायित्व, विश्वासको खम्बा होइन—भत्किने गारो मात्र हो।
यसबीच अनगिन्ती प्रश्नहरू झन् बल्झिरहेक छन्—
के युवराजले नै परिवारको हत्या गरे?

यदि गरे भने त्यो मानसिक अवस्था किन भयो? किन चनाखो सुरक्षा प्रणाली विफल भयो?
यदि गरेनन् भने, कसले र किन गर्यो?
अनुसन्धान समितिको प्रतिवेदन किन अझै सार्वजनिक हुँदैन?
यी प्रश्नहरूले आज पनि नेपाली जनताको चेतनामा आँधी ल्याउँछ। त्यही भएर २४ वर्ष बित्दा पनि नेपाली जनताले यो काण्डलाई ‘दुर्घटना’ भन्न तयार छैनन्।
सरकार मौन, सन्देह मुखर
२४ वर्षसम्म पनि सरकार वा राज्य संयन्त्रको स्पष्ट र भरोसायोग्य जवाफ नआउनु आफैंमा सन्देह पैदा गर्ने कुरा हो। दरबार हत्याकाण्ड केवल शाही परिवारको नाश मात्र होइन, त्यसपछि भएको राजनीतिक पुनर्संरचना, सत्ता हस्तान्तरण र विदेशी चासोलाई समेत परिप्रेक्ष्यमा राखेर अध्ययन गर्नुपर्ने विषय हो।
तर हाम्रो राज्य संयन्त्रले न सत्यलाई उजागर गर्यो, न जनतालाई सान्त्वना दिन सक्ने जिम्मेवारी निभायो। सरकार फेरिए, मन्त्रिपरिषद् बदलिए, तर दरबार हत्याकाण्डको फाइल त्यत्तिकै थन्किएको छ।
अब के हो बाटो?
२४ वर्षपछि आज समयको माग छ—सत्य उजागर गर। यो फाइल इतिहासकारका लागि मात्र होइन, आम नेपाली नागरिकको आत्मसम्मानका लागि हो। एकजना नागरिकले राज्यमाथि भरोसा राख्न सक्ने आधार यही सत्य र पारदर्शिताले बनाउँछ।
दरबार हत्याकाण्डको अनुसन्धान प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्। यदि पुरानो रिपोर्ट अपूरो वा पक्षपाती थियो भने पुनः अनुसन्धान होस्। आवश्यक परे अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिइयोस्।
कसैको अनुहार जोगाउने होइन, इतिहासको अनुहार देखाउने बेला हो यो। किनकि सत्य सधैं ढिलो होला, तर हराउँदैन।

