
वीरगन्ज । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पर्सा जिल्लाभित्रका प्रमुख रंगशाला र खेल मैदानहरूको विकास तथा निर्माणमा करिब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्षको बजेट पुस्तिकामा उल्लेख भएअनुसार, जिल्लाभित्रका शहरी र ग्रामीण क्षेत्रका खेल पूर्वाधारलाई सन्तुलितरूपमा समेट्दै बजेट छुट्याइएको हो।
वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला, बढनियार खेलमैदान तथा जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान बजेट विनियोजनमा समावेश गरिएका छन्।
बजेट विवरण यस प्रकार छ:

-
नारायणी रंगशालाको स्तरोन्नतिका लागि ४ करोड रुपैयाँ,
-
नारायणी कभर्ड हलको निर्माणका लागि ४ करोड रुपैयाँ,
-
आदर्शनगर रंगशाला र बढनियार खेलमैदानको निर्माणका लागि ३ करोड रुपैयाँ,
-
मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान (जगरनाथपुर–४) मा खेल पूर्वाधार सुधारका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस बजेट विनियोजनसँगै वीरगन्ज र वरपरका क्षेत्रमा खेलकुद पूर्वाधार सुदृढ हुने अपेक्षा गरिएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको नारायणी रंगशालाको स्तरोन्नति हुँदै जाँदा यसले राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहज हुने विश्वास लिइएको छ।
त्यस्तै, ग्रामीण भेगका क्रिकेट मैदान र बहुउद्देश्यीय कभर्ड हलको निर्माणले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै खेल पर्यटनलाई समेत प्रवर्द्धन गर्ने अनुमान गरिएको छ।
स्थानीय खेलकर्मी र खेलप्रेमीहरू यस निर्णयप्रति खुसी व्यक्त गर्दै कार्यान्वयन पक्षमा राज्यको सक्रियता चाहिएको बताउँछन्। ‘बजेट त विनियोजन भयो, अब समयमै काम थालियोस् भन्ने हाम्रो चाहना हो,’ एक स्थानीय प्रशिक्षकले भने।

