
“पाँच पटक संसद अवरुद्ध! गृहमन्त्रीको राजीनामा माग र सत्तापक्षको मौनता बीच लोकतन्त्रको अपमान”
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि फेरि स्थगित गरिएको छ। आजको बैठक समेत विपक्षी दलको लगातारको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।
आजको बैठक दिउँसो १ बजेका लागि तय गरिएको भए तापनि दलहरूबीच सहमति नजुटेपछि ३ बजेसम्म सारिएको थियो। तर, बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको प्रयास गर्दै सांसदहरूलाई शान्त रहन र सदन चलाउन सहयोग गर्न अनुरोध गरे पनि अवरोध नहटेको कारण बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।
विपक्षी सांसदहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्। आजसहित पाँच बैठक अवरुद्ध भइसकेका छन् — जसमध्ये जेठ १३ र १४ का बैठकहरू सुरु भएपछि स्थगित भएका थिए भने हिजो र अस्ति बैठक सुरू नै नभई स्थगित गरिएका थिए।
सत्तापक्ष र विपक्ष दुवैको भूमिकामाथि अहिले सर्वत्र प्रश्न उठिरहेको छ। जनताका सवालमा छलफल हुनुपर्ने सदनलाई निरन्तर अवरुद्ध पार्नु विपक्षको जिम्मेवारविहीनता हो भने, गृह मन्त्रालयको संवेदनशील विषयमा गम्भीर कदम नचाल्नु सत्ता पक्षको लापरवाही हो भन्ने आवाज पनि उठिरहेको छ।
संसद् कुन दिन चल्ने हो भन्ने अनिश्चितताले आम नागरिकमा निराशा बढाएको छ।

