
नेपालले सिङ्गापुरलाई हराउँदै एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि दोस्रो पटक हात पारेको छ । मलेशियाको बाङ्गीमा सम्पन्न फाइनल खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेटायो । ५८ रनको स्कोरमै ५ विकेट गुमाएको नेपालका लागि जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको महत्वपूर्ण साझेदारी गरे । त्यसपछि ९२ रनमा ८ विकेट गुमाइसकेको अवस्थामा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साहसी साझेदारी गर्दै जित सुरक्षित गरे । जोए थापा २४ रनमा अविजित रहे । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १३ रनमा सीमित भएको थियो । सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन जोडे । नेपालका तर्फबाट सुशीलबहादुर रावल र अभय यादवले समान ३÷३ विकेट लिएर सिङ्गापुरको इनिङ धराशायी बनाएका थिए ।
सन् २०२३ मा पनि उपाधि जितेको नेपाल यसपटक पनि अपराजित रहँदै उपाधि उचाल्न सफल भयो । युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाल क्रिकेटको भविष्य उज्यालो देखिएको छ ।

