
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसमा उत्पन्न खानेपानी संकट समाधानका लागि आवश्यक बजेटको व्यवस्था गरी तत्काल समाधान खोज्न आग्रह गरिएको समितिकी सभापति कमला पन्तले जानकारी दिइन्।
बैठकले दीर्घकालीन समाधानका लागि सांसद उर्मिला अर्यालको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा समिति सदस्यहरूले जनताको आधारभूत अधिकारको रूपमा रहेको खानेपानीको तत्काल र दीर्घकालीन समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।

