
कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि इजरायल सरकारले उनको आमा पद्मा जोशी र बहिनी पुष्पालाई आफ्नो मुलुक लैजाने तयारी गरेको छ। सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका विपिनको अवस्था अझै अज्ञात छ।
विपिनका दाइ किशोर जोशीका अनुसार नेपालस्थित इजरायली दूतावासले आमा र बहिनीलाई आगामी सोमबार इजरायल लैजाने तयारी गरेको हो। “सबै कागजात तयार भइसकेको छ,” उनले जानकारी दिए।

इजरायलले पद्मा र पुष्पालाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने योजना बनाएको छ। अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न राष्ट्रसंघमार्फत पहल गरिने र अमेरिकी राष्ट्रपति सँगै भेट गराउने तयारीसमेत भएको कान्तिपुरले इजरायली अधिकारी सागी कार्नीलाई उद्धृत गर्दै जनाएको छ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न इजरायल गएका विपिन हमासको आक्रमणमा परेका थिए। उक्त घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना बन्धक बनाइएको थियो।
घटनापछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद स्वयं इजरायल पुगेर उद्धार प्रक्रिया अगाडि बढाएका थिए। अहिले इजरायल सरकारको यो कदमले विपिनको रिहाइ सम्भव हुने आशा थप बलियो बनाएको छ।

