
वीरगञ्ज महानगर क्षेत्रमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जिल्लाभरका अस्पतालहरूलाई झाडापखालाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार गर्ने निर्देशन दिएको छ ।
शनिबार निमित्त प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले हैजासम्बन्धी जोखिम बढेकाले समयमै उपचार सुनिश्चित गर्न सबै अस्पताललाई पूर्ण तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

बैठकले हैजा र झाडापखाला रोकथामका लागि घरदैलो जनचेतनामूलक अभियान सुरु गर्ने, संक्रमण बढे उपचारका लागि पर्याप्त डेडिकेटेड शैया छुट्याउने तथा थप जनशक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, स्वास्थ्य कार्यालय पर्साले आवश्यक औषधि तथा परीक्षण किट उपलब्ध गराउने, सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवाला समूहहरूको प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
हैजा नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, संघसंस्था, रेडक्रस, गैरसरकारी संस्था, सञ्चारकर्मी र दातृ निकायसँग सहकार्य गरी सामग्री व्यवस्थापन र सचेतना अभियान सघन बनाइने समितिले जनाएको छ ।
समितिको अर्को बैठक आइतबार दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने तय गरिएको छ ।

