
एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलपछि खेलाडीहरूले हात नमिलाएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
पाकिस्तान टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूको यो व्यवहार खेल–भावनाविपरीत भएको बताएका छन् । विरोधस्वरूप पाकिस्तानी कप्तान सलमान अली आगा समापन समारोहमा समेत उपस्थित भएनन् ।

पाकिस्तानी प्रशिक्षक माइक हेसनले पनि टोलीको प्रतिक्रिया स्वाभाविक रहेको बताएका छन् ।
भारतले खेल जित्दा कप्तान सूर्यकुमार यादव र शिवम दुबे ब्याटिङ गरिरहेका थिए । उनीहरूले विपक्षी खेलाडीसँग हात नमिलाई मैदान छाडेका थिए । त्यसपछि पाकिस्तानी टोली भारतीय डगआउटतिर पुगे पनि त्यतिन्जेल भारतीय खेलाडीहरू ड्रेसिङ रुम भित्र गइसकेका थिए ।
यसअघि टसको क्रममा पनि भारतीय कप्तान सूर्यकुमार यादव र पाकिस्तानी कप्तान सलमान अली आगाबीच हात नमिलाइएको बताइएको छ ।
एशिया कपमा आज समूह ‘ए’ का यूएई र ओमान खेलिरहेका छन् । समूह ‘बी’ अन्तर्गत राति सवा आठ बजे श्रीलङ्का र हङकङ आमनेसामने हुने कार्यक्रम छ ।

