
जेन जी आन्दोलनपछि अस्पतालहरूमा मानसिक स्वास्थ्य समस्याका बिरामीको संख्या बढेको पाइएको छ । केही नयाँ बिरामी उपचारमा आएको र केही विगतमा मानसिक स्वास्थ्य समस्या भएर निको भइसकेकाहरू पनि पुनः बल्झिएर आउने गरेका उपचारमा संलग्न डाक्टरहरु बताउँछन् । यस्तै उपचार गराइरहेकाहरुमा समस्या झनै बढेको पाटनमा रहेको मानसिक अस्पतालका निर्देशक डाक्टर सुरज तिवारीले बताउनुभयो ।

गएको भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ जना पुगेको छ । थुप्रै सार्वजनिक भवनहरूमा आगजनी भए । आन्दोलनका कारण सत्ता नै परिवर्तन भएको छ । देशभरका विभिन्न कारागारबाट १४ हजार भन्दा धेरै कैदीबन्दी भागेका थिए । कसैले परिवारका सदस्य तथा साथीहरु गुमाए, कसैले व्यवसाय वा रोजगारी गुमाए । यी घटनाहरूबाट मानिसमा डर र तनाव बढ्ने अनि विभिन्न खालका मानसिक स्वास्थ्य समस्या देखिएको मनोचिकित्सक तिवारी बताउनुहुन्छ ।
यस्तो अवस्थामा आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा आएको परिवर्तन हेरेर मनोचिकित्सक वा मनोविद् वा मनोपरामर्शदाताको सहायता लिन उहाँको सुझाव छ । लामो समयसम्म निन्द्रा नपर्ने, मनमा कुरा खेलिरहने, खान मन नलाग्ने वा अत्यधिक खान मन लाग्ने, शरीर झमझमाउने, एक्लै बस्न मन लाग्ने, कुनै पनि रमाइला गतिबिधीमा मन नलाग्ने जस्ता लक्षण दुई हप्ता भन्दा बढी समयसम्म देखिए अस्पताल जान डाक्टरहरुको सुझाव छ ।

