
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई प्रविधि र समयसापेक्ष आवश्यक स्रोतसाधनसहित परिस्कृत गर्नुपर्नेमा जोड दिनु भएको छ। आज ७०औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले बढ्दो प्रविधि र नयाँ अपराध अनुसन्धान चुनौतीको सामना गर्न प्रहरीलाई सक्षम बनाउनु आवश्यक रहेको बताए।
अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न सरकार सजग रहेको जानकारी दिनुभयो। ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी स्रोतसाधनमा क्षति पुगेको हुँदा त्यसलाई सम्हाल्दै उच्च मनोबलसहित निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिनुपर्ने उहाँको भनाइ थियो।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरीलाई नागरिक भरोसाको केन्द्रका रूपमा राख्दै ९३९ स्थानमा नयाँ इकाइ स्थापना र ४०० भन्दा बढी इकाइ स्तरोन्नतिको आवश्यकता रहेको उल्लेख गरे। थप २५ हजार जनशक्तिको माग रहेको र प्रहरी सुधार र शुद्धीकरणमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, मोतीलाल कला उत्कृष्ट अनुसन्धान पुरस्कार र पूर्ण शान्ति पुरस्कार प्रदान गरिएको थियो। यस वर्ष कर्तव्य पालनमा वीरगती प्राप्त प्रहरी कर्मचारीका आश्रितलाई रु १,५०,००० नगद हस्तान्तरण गरिएको थियो।
नेपाल प्रहरी २०१२ ऐन अनुसार स्थापना भएको प्रहरी बलले आज ७० वर्ष पूरा गरेको छ। प्रारम्भमा ७,७१५ जनशक्ति रहेको प्रहरीमा हाल ७९,५४१ जनशक्ति कार्यरत छन्।

